काठमाडौँ: काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ ।
कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो ।
यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिनुभयो।
“अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी दशैँलाई लक्षित गरी काम अघि बढाइएको छ”, प्रमुख थापाले भन्नुभयो ।
धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यसअघि देखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन लागिएको उहाँले भन्नुभयो ।
