काठमाडौं । लामो छलफल र आन्तरिक विचार–विमर्शपछि नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको हो।
महाधिवेशनको घोषणासँगै कांग्रेस केन्द्रीय सदस्य तथा पेशागत तथा बुद्धिजीवी विभागका अध्यक्ष डा. डिला पन्त संग्रौलाले निर्णयप्रति स्वागत व्यक्त गर्दै पार्टी सुधार र जनसम्पर्क मजबुत बनाउन माग भइरहेका बेला महाधिवेशन ऐतिहासिक महत्वको हुने बताएका छन्।
उनका अनुसार गत भदौमा जेन–जि पुस्ताद्वारा चलाइएका आन्दोलनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा गुणात्मक परिवर्तनको आवश्यकता प्रस्ट पारेको थियो। त्यसैले आगामी महाधिवेशन कांग्रेसको आन्तरिक जीवनका लागि मात्र होइन, राष्ट्रिय राजनीतिलाई मार्गनिर्देशन गर्ने मोडको रूपमा रहने उनले उल्लेख गरे।
आम निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा २९ जना केन्द्रीय सदस्यसहित धेरै नेताहरू खुला रूपमा प्रस्तुत भइरहेका थिए। अब महाधिवेशनमार्फत नयाँ नेतृत्व, नीति तथा कार्यक्रम तय गरेर समावेशी, समृद्ध र लोकतान्त्रिक नेपालको स्पष्ट मार्गचित्र लिएर आम निर्वाचनतर्फ अघि बढ्नुपर्ने संग्रौलाको भनाइ छ।
पार्टीभित्र सहमति निर्माणका लागि प्रयासरत सभापति, कार्यवाहक सभापति तथा पदाधिकारीहरूलाई धन्यवाद दिंदै उनले देशभरका कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर महाधिवेशन सफल बनाउन अपिल गरेका छन्।

