विराटनगरमा आयोजित सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र राष्ट्रियताको रक्षा नागरिक तहबाटै सम्भव हुने तर्क प्रस्तुत गर्दै ‘नागरिक फौज’ गठनको अवधारणा अघि सारेका छन्। उनले सेना–प्रहरी मात्रले देशको सुरक्षा दायित्व पूरा गर्न पर्याप्त नहुने बताउँदै तीन करोड नेपालीलाई नै राष्ट्रिय फौजको रूपमा संगठित गर्नुपर्ने धारणा राखे।
जनयुद्ध र शान्ति प्रक्रियाको सुरुवाती चरणमा तत्कालीन माओवादीले नागरिकलाई सैनिक तालिम दिने प्रस्ताव उठेको तर अघि नबढेको स्मरण गर्दै प्रचण्डले अहिले फेरि नागरिक फौजको आवश्यकता बढेको बताए। विदेशी हस्तक्षेप र साम्राज्यवादी शक्तिसँग परम्परागत युद्ध लड्ने क्षमतामा नेपाल कमजोर रहेको उल्लेख गर्दै उनले नागरिकको सामूहिक शक्ति नै सर्वोत्तम रक्षा शक्ति हो भने।
उनका शब्दमा, “सेना–प्रहरीले मात्रै पुग्दो रहेनछ। अत्याधुनिक मिसाइल बनाउने शक्ति हाम्रो छैन, तर नागरिकको सामूहिक तागत अपार छ। तीन करोड नेपाली देशका लागि मर्न तयार भए कसैले नेपाललाई जित्न सक्दैन।”
प्रचण्डका अनुसार राष्ट्रको सुरक्षामा जनसहभागिता निर्णायक हुन्छ र सामूहिक जनशक्तिबाट मात्र साम्राज्यवादी चलखेल तथा हस्तक्षेपलाई पराजित गर्न सकिन्छ।

