रास्वपा–विवेकशील साझा एकीकरण : ‘घण्टी’मै गोलबद्ध हुँदै नयाँ संरचना
काठमाडौँ —विवेकशील साझा पार्टी रास्वपामा बिलय भएको छ । पार्टीको नाम रास्वपा एवम् चुनाव चिन्ह ‘घन्टी’ दुबै रास्वपाकै रहने निर्णयमा हस्ताक्षरसहित आइतबार एकताको घोषणा भएको छ ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकीकरण भएको हो। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत दुई दलका शीर्ष नेताहरूले एकीकरणकाे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
रास्वपातर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझातर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रूपमा हस्ताक्षर गरे ।
सहमति पत्रका अनुसार बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, असल शासन र सुशासन स्थापनाकाे लक्ष्य राखी दुवै दल एक भएका छन्। छोटो समयमै उल्लेखनीय संसदीय उपस्थिति बनाएर सुशासनका मुद्दामा निर्णायक हस्तक्षेप गर्ने सहमति गरिएको छ।
यससँगै रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार्ने तथा वैकल्पिक राजनीतिमा स्व. उज्वल थापा र “विवेकशील अभियान” को योगदानलाई दस्तावेजीकृत गरी मान्यता दिने उल्लेख छ।
एकीकरणपछि बन्ने विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझाबाट आउने नेताहरूलाई समझदारीका आधारमा मनोनयन गरिनेछ। ती सदस्यहरूको हैसियत केन्द्रीय समितिका सदस्य सरह हुने सहमति छ। साथै विवेकशील साझाका सदस्य र सल्लाहकारलाई केन्द्रीयदेखि स्थानीय तहसम्म योग्यता, समावेशिता र सार्वजनिक छविको आधारमा समायोजन गरिनेछ।
दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ।
दलको झण्डा: नीलो पृष्ठभूमि, बीचमा सेतो गोलाकार, भित्र नीलो घण्टी।
दलको चिह्न: घण्टी।
दुवै दलले एकीकरणसम्बन्धी आवश्यक कानुनी प्रक्रिया छिटो पूरा गर्ने, दलका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा गर्नुपर्ने सहमति जनाएको छ। साथै रास्वपाको नेतृत्व, सिद्धान्त र ‘घण्टी’ चिह्नमा गोलबद्ध हुँदै लोकतान्त्रिक सुशासन र समुन्नतिको एजेण्डा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति तथा व्यक्तिलाई समेत आह्वान गरिएको छ।

