काठमाडौं — हालै आएको विनाशकारी बाढीका कारण श्रीलङ्कामा व्यापक मानवीय क्षति तथा भौतिक विनाश भएपछि नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको छ ।
विज्ञप्तिमार्फत नेपाल सरकारले द्विपक्षीय आत्मीय सम्बन्धका आधारमा कठिन समयमा श्रीलङ्कासँग ऐक्यबद्धता व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारलाई समवेदना जनाएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर सहायता पठाउने निर्णय गरेको परराष्ट्र मत्रालयले जनाएको छ।
यो रकम नेपाली रुपैयाँमा हालको मूल्य अनुसार झन्डै तीन करोड हाराहारी हो ।
विज्ञप्तिमा भनिएको छ, “यस दुःखद् क्षणबाट उठ्न श्रीलङ्का जनताको साहस, धैर्य र शक्ति प्रति नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वास राख्दछन्।”

