कास्की — नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा अर्थात् फागुन २१ कै दिन निर्वाचन गराइनुपर्नुपर्ने बताएका छन्। पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सरकारले जनाधार भएका दलसँग छलफल गरी चुनावी वातावरण अझ सुनिश्चित गर्नु पर्नेमा जोड दिए।
“चुनाव तोकिएको समयमै हुनुपर्छ,” उनले भने, “जनाधार भएका पार्टीका नेतासँग छलफल नगरी वातावरण बनाइयो भने त्यो सही हुँदैन।”
उनका अनुसार चुनावका विषयमा बेवास्ता वा राजनीतिक पूर्वाग्रह लिँदै अघि बढ्दा अस्थिरता झन् बढ्ने खतरा हुन्छ।
संयोजक दाहालले राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएको दाबी गर्दै देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एकजुट हुनु समयको आवश्यकता रहेको बताए। अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्डले राष्ट्रलाई क्षति पुर्याएको उनको आरोप थियो।
“हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हटाइयो,” उनले भने, “अघिल्लो पटक शक्ति पुगेन। अब आगामी निर्वाचनमा पहिलो शक्ति बनेर राष्ट्रियता र सुशासनका लागि काम गर्छौँ।”
दाहालले १७ घटक मिलेर बनेको पार्टी एकता अभियान केवल चुनाव जित्ने लक्ष्यका लागि नभई राष्ट्रियता र समृद्धिको आधार निर्माणका लागि सुरु गरिएको बताए।
“राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धि निर्माण हाम्रो उद्देश्य हो,” उनले भने, “त्यसैले कम्युनिस्ट एकता र लोकतान्त्रिक शक्तिसँग सहकार्य आवश्यक छ।”

