ओखलढुंगा। ओखलढुंगा सामादायिक अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।
मोलुङ गाउँपालिका–६ श्रीचौर मंगलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुंगा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुको जन्म दिएकी हुन् । जन्मिएका तीन शिशु छोरी भएको अस्पतालले बताएको छ ।
बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए। निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए।
जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ।
३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तामाङको पहिलो सन्तानका रूपमा एक सात वर्षीय छोरा छन्।

