जेनजी पुस्ताले आज सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ। बिहान ११ बजेदेखि हुने यो शान्तिपूर्ण प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति प्रदान गरेको छ।
आयोजकहरूले जारी गरेको विज्ञप्तिमा यो आन्दोलन भ्रष्टाचारविरुद्ध जवाफदेही बनाउने, सरकारमा पारदर्शिता कायम गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले आयोजना गरिएको उल्लेख छ।
जेनजी पुस्ताले प्रदर्शनमा सहभागी सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ। विज्ञप्तिमा उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा आधारित रहेको बताएका छन्। आन्दोलनकारीहरूले यो प्रदर्शन कुनै राजनीतिक दल वा नेताको स्वार्थका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन्। उनीहरूले राजनीतिक दलहरूलाई प्रदर्शनलाई दुरुपयोग नगर्न चेतावनीसमेत दिएका छन्।
जेनजीले सरकार र राज्यका निकायहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ। यदि प्रदर्शनमाथि हिंसा वा अवैध बल प्रयोग भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र यस्ता कार्यले मानवअधिकार उल्लङ्घन हुने उनीहरूको चेतावनी छ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा प्रदर्शनको सुरक्षा रणनीतिबारे छलफल भएको छ। उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले प्रदर्शनमा ‘घुसपैठ’ को सम्भावना रहेको आकलन गरिएको बताए।
प्रदर्शनमा चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर हालै थुनामुक्त भएका दुर्गा प्रसाईंलगायत विभिन्न व्यक्ति र समूहले ऐक्यबद्धता जनाएका छन्। यद्यपि, प्रहरीले प्रदर्शनको नाममा तोडफोड वा सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास भएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
जिल्ला सुरक्षा समितिको योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित हुनेछन्। उच्छृङ्खल गतिविधि रोक्न सादा पोसाकका प्रहरीले सूचना सङ्कलन गर्ने रणनीति बनाइएको छ।
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएर ठूला पदमा बसेका व्यक्तिका सन्तानले अवसरको दुरुपयोग गरेको भन्दै विरोध जनाएका छन्।

