काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले प्रभावशाली प्रदर्शन जारी राख्दै मंगलबार लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै दोश्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा गोर्खाजले उत्कृष्ट बलिङको बलमा विजय प्राप्त गरेको हो।
चार खेलमा दोस्रो जित निकालेसँगै काठमान्डुले ४ अंक जोडेर तालिकाको तेस्रो स्थान सम्हालेको छ। जनकपुर बोल्ट्सलाई पराजित गर्दै लिग सफर सुरु गरेको काठमान्डु गोर्खाज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार हार ब्यहोरेपछि दबाबमा थियो। तर, मंगलबारको जितले गोर्खाज फेरि लयमा फर्किएको संकेत दिएको छ।
लुम्बिनी लायन्सको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी, दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।
काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याउन उत्रिएको लुम्बिनी १९.१ ओभरमै १३५ रनमा समेटियो। टोलीका शेर मल्लले सर्वाधिक २७ रन योगदान दिए भने दिलीप नाथले २५ रन जोडे। तर, दुवैको प्रयास जितका लागि पर्याप्त भएन।
गोर्खाजका बलरहरू मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई विकेट हात पारे। कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले पनि समान एक–एक विकेट लिएर लुम्बिनीको पुँजी सीमित गर्न महत्वपूर्ण योगदान दिए।

