काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजेबाट भिड्दै छन्।
क्यानले यस संस्करणमा हरेक दिन ९ हजार ४५० टिकट बिक्री गर्ने व्यवस्था गरेको छ। उद्घाटन खेलको टिकट भने तीन दिनअघि नै सकिएको क्यानका सचिव पारस खड्काले बताए। उनले बाँकी दर्शकलाई घरमै बसेर प्रसारण हेर्न आग्रह गरेका छन्।
मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा ३२ खेल हुनेछन्—लिग चरण, तीन प्लेअफ र फाइनलसहित।
उद्घाटन दिन साधारण टिकट ५०० र प्रिमियम १५०० तोकिएको छ। लिगका अन्य दिन साधारण ५०० र प्रिमियम १००० रहनेछ। प्लेअफपछि साधारण टिकट १००० र प्रिमियम २०००को रहेको छ । सिजनल पासका लागि क्यानले १५ हजार रूपैयाँ निर्धारण गरेको छ।
एनपिएलमा आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्दैछन्—
जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स।
प्रतियोगिताको दोस्रो दिन मंगलबार पहिलो खेल चितवन राइनोज–कर्णाली याक्स र दोस्रो खेल विराटनगर किंग्स–पोखरा एभेन्जर्स बीच हुने कार्यक्रम छ।

