काठमाडौँ । नेपाल ट्रष्टको जग्गा भाडा प्रकरणले थप नयाँ मोड लिएको छ । ट्रष्टको जग्गा भाडामा लिने दिने बिषयमा अनियमिता भएको आरोपमा नेपाल सरकारको विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका पूर्वसचिव अर्जुन कार्कीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा भाडामा दिने क्रममा गैरकानुनी लाभ उठाई राज्यलाई नोक्सान पुर्याएको आरोपमा कार्कीलाई आइतबार थुनामा लिइएको हो। कार्की त्यतिबेला ट्रष्टका तत्कालीन सचिव रहेका थिए।
सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार नेपाल ट्रष्ट र थामशेर्कु ट्रेकिङबीच भएको करारपत्रमा सूचनामा उल्लेख भएको भन्दा थप क्षेत्रफलको जग्गा भाडामा दिएको प्रमाण फेला परेको छ। उनले आवश्यक निर्णय प्रक्रिया र आधारबिना बदनियतपूर्वक सम्झौता गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।
उक्त जग्गा २०७४ जेठ १४ गते करार सम्झौतामार्फत भाडामा दिइएको थियो।
घटनासम्बन्धी अनुसन्धानको क्रममा सिआइबीले यसअघि कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पनि पक्राउ गरेको थियो।

