काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पुगेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँ निवासी काफ्ले स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए । बीमा भुक्तानीको दायित्व लगातार बढ्दै जाँदा बोर्ड तीव्र आर्थिक दबाबमा परेको अवस्थामा उनको राजीनामा आएको हो ।
हाल बोर्डले सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । लामो समयदेखि रकम नपाएको भन्दै ठूला सरकारी अस्पतालहरूले सूचना सार्वजनिक गर्दै स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही अन्य अस्पताल पनि सेवा रोक्ने तयारीमा छन् ।
यता अर्थ मन्त्रालयले हालको मोडेलमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न थप अनुदान दिन नसकिने स्पष्ट पारेपछि कार्यक्रमको भविष्य नै अन्योलमा परेको छ । आवश्यक बजेट सहयोग नपाउँदा सर्वसाधारणको पहुँचमा रहेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा फस्दै गएको छ ।
सरकारी तहबाट नीतिगत स्पष्टता र दिगो समाधान नआए स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा अवरुद्ध हुने जोखिम बढ्दै गएको छ ।

