काठमाडौँ । काठमाडौँ उपत्यकामा केही दिनदेखि बढेको चिसो क्रमशः कम हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ।
अघिल्लो दिन आइतबार बिहान न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको थियो। यसअघि भने पुस ३० गते उपत्यकाको तापक्रम घटेर २.३ डिग्री सेल्सियससम्म झरेको थियो। त्यस्तै, पुस २५ गते पनि न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन यस सिजनकै चिसोमध्ये एक मानिएको छ।
मौसमविद् विनु महार्जनका अनुसार सोमबार दिउँसो उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
तापक्रममा देखिएको यो क्रमिक वृद्धिले केही दिनयता चिसोबाट हैरान भएका उपत्यकावासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

