काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
निर्वाचन आयोगले आइतबार मध्यरातीबाट आचारसंहिता लागू हुने जानकारी औपचारिक रूपमा सरकारलाई गराइसकेको थियो ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले बालुवाटारमा आयोजित कार्यक्रममा आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको हो। आयोगका अनुसार निर्वाचन आचारसंहिता राति १२ बजेदेखि कार्यान्व्यन भएको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता निर्माण गरी लागू गरिएको आयोगले जनाएको छ।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्न १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै उम्मेदवारी दर्ताका लागि आवश्यक कागजात र शर्तहरू सार्वजनिक गरेको हो।
महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटीबापत बुझाउनु पर्ने उल्लेख छ । आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहको सिफारिसपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगले प्रतिनिधिसभा सदस्यका लागि भोलि माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ।

