काठमाडौँ — सन् २०२६ को सुरुआतसँगै नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक संकेत देखिएको छ। जनवरी महिनामा मात्र ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १५.७ प्रतिशतले बढी हो।
नेपाल पर्यटन बोर्डका अनुसार वर्षको पहिलो महिनामै देखिएको यो वृद्धिले पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको लयमा फर्किँदै गएको संकेत गर्छ। चिसो मौसमका बाबजुद उल्लेख्य संख्यामा पर्यटक नेपाल आउनु पर्यटन गतिविधि वर्षैभरि सक्रिय बन्दै गएको प्रमाणका रूपमा लिइएको छ।
जनवरीमा नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। सो अवधिमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्। त्यसपछि क्रमशः चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बङ्गलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुक (सार्क) बाट आउने पर्यटकको हिस्सा ३९.३ प्रतिशत रहेको छ। यस्तै, अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आएका छन्। मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार वर्षको सुरुआतमै देखिएको यो सकारात्मक प्रवृत्तिले आगामी महिनाहरूमा पर्यटक आगमन अझै बढ्ने आशा जगाएको छ। यद्यपि, उनीहरू संख्या मात्र नभई पर्यटकको बसाइ अवधि र खर्च क्षमतामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँछन्।

