काठमाडौं — चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। उपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आइतबार उनको मृत्यु भएको हो।
४५ वर्षीय सिटौलाको अस्पताल प्रशासनले पत्रकार सम्मेलनमार्फत निधनको पुष्टि गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम पुगेका सिटौला त्यहाँ अचानक बेहोस भएपछि उपचारका लागि शुक्रबार काठमाडौं ल्याइ ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
चलचित्र पत्रकार संघले उनको निधनलाई चलचित्र पत्रकारिताका लागि अपूरणीय क्षति भएको जनाएको छ।
लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सिटौलाले संघको नेतृत्व गर्दै पेशागत मर्यादा, एकता र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको असामयिक निधनले चलचित्रकर्मी, पत्रकार र शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ।

