काठमाण्डौ — लोक सेवा आयोगको कार्यालय सुर्खेतले सञ्चालन गरेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ। अर्काको नाममा परीक्षा दिइरहेका १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
शनिबार सम्पन्न लिखित परीक्षाका क्रममा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर फेरबदल गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ परेकाहरूलाई आइतबार सार्वजनिक गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार परीक्षा केन्द्रमै कागजात जाँच गर्दा कीर्ते गरिएको खुल्न आएको हो। “नागरिकता र प्रवेशपत्रमा फोटो र हस्ताक्षर नमिलेपछि थप सोधपुछ गर्दा नक्कली परीक्षार्थी भएको पुष्टि भयो,” उनले बताए।
पक्राउ परेकामा जाजरकोटका छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा, वडा नं १० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका–२ का विपेश सिंह (१९), सूर्यकिरण शाही (१८), निरज शाही (२१) र नवराज विक (२३) रहेका छन्। यस्तै, कुसे गाउँपालिका–२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–९ बस्दै आएका २६ वर्षीय पूर्णबहादुर सिंह र जुनीचाँदे गाउँपालिका–१ का १८ वर्षीय ललित रावल पनि पक्राउ परेका छन्।
यसैगरी, दैलेखको दुल्लु नगरपालिका–१ का १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का २४ वर्षीय वीरबहादुर ठाडा, बाँकेको बैजनाथ गाउँपालिका–२ का २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू समेत नियन्त्रणमा छन्।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित गिरोहको खोजी कार्य जारी छ। पक्राउ परेका १२ जनामाथि लिखत कीर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बुढ्थापाले जानकारी दिए।

