काठमाडौं । ॐ समाज डेण्टल अस्पतालद्वारा ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। रोल्पाली चेली फाउण्डेसनको सहकार्यमा सम्पन्न उक्त शिविर बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको थियो।
शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी परीक्षण, परामर्श र आवश्यक सेवाहरू प्रदान गरिएको थियो। शिविरबाट सयौं सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका थिए। बिहानैदेखि स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको शिविरले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन्।
कार्यक्रमका अवसरमा ॐ समाज डेण्टल अस्पताल तथा रोल्पाली चेली फाउण्डेसनद्वारा कलाकार, पत्रकार, चिकित्सक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। समाजसेवामा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूको भनाइ थियो।
शिविरमा ॐ समाज डेण्टल अस्पतालका मुख्य सञ्चालक डा. सुवास घिमिरे र रोल्पाली चेली फाउण्डेसनकी अध्यक्ष यमुना के.सी.को उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै डा. घिमिरेले स्वास्थ्यभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै सकेसम्म कसैले पनि अस्पताल जानुपर्ने अवस्था नआओस् भन्ने कामना व्यक्त गर्नुभयो। नियमित स्वास्थ्य जाँच र सचेतनाले धेरै रोगहरूबाट बच्न सकिने उहाँको भनाइ थियो।
त्यसैगरी, फाउण्डेसनकी अध्यक्ष यमुना के.सी.ले सामाजिक सेवा र स्वास्थ्य क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएको जानकारी गराउँदै सबैको साथ, सहयोग र समर्थनको अपेक्षा समेत गर्नुभयो।
स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वलाई जोड्दै सम्पन्न भएको यो शिविरले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक संस्थाहरूले जनाएका छन्।

