काठमाडौं, साउन ४
राजन थापा
पशुपतिनाथ मन्दिरको लामो धार्मिक इतिहासमा पहिलोपटक “श्री पशुपतिनाथ महात्म्य तथा महाअनुष्ठान २०८२” भव्य रूपमा सुरु भएको छ। यो अनुष्ठान धार्मिक श्रद्धा, सामाजिक समर्पण र निःशुल्क स्वास्थ्य सेवाको अद्वितीय समन्वय बनेको छ।
अनुष्ठानमा सहभागी भक्तजनका लागि निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ, जसको समन्वय पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाले गरेका छन्। उनका अनुसार अनुष्ठान अवधिभर प्रत्येक दिन विभिन्न विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क सेवा प्रदान गरिनेछ। अस्पतालहरूको सक्रियता
स्वास्थ्य शिविरमा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले नेतृत्व लिएको छ। डा. गौरी श्रेष्ठ, शाखा प्रमुख सबिना पपन गुरुङ, सहायक जुनु पण्डित र दुर्गा न्यौपाने जस्ता स्वास्थ्यकर्मीहरू शिविरमा सक्रिय छन्।
यस्तै, स्तुपा अस्पताल, चावहिलबाट दिपि तामाङ, अस्मिता लामा शेर्पा, अल्का सुब्बा र सोफी मगर सहितको टोलीले पनि सेवा दिइरहेका छन्। ग्रीनसिटी अस्पताल, ईसान महिला तथा बाल अस्पताल, र बिपी स्मृति सामुदायिक अस्पताल समेतले आगामी दिनमा निरन्तर सेवा दिने प्रतिबद्धता जनाएका छन्।
राजन थापा भन्छन्, “धार्मिक कर्मसँगै सामाजिक सेवा पनि होस् भन्ने उद्देश्यले यो कार्यक्रम समन्वयमा ल्याइएको हो। सेवा गर्न भावनाले काम गर्छ, प्रचारले होइन।”
अनुष्ठानमा भक्तजनहरू शालिग्राम तिलक, पार्थिव शिवलिङ्ग दर्शन, हवन मण्डप पूजा आदि गतिविधिमा सहभागी छन्। वातावरणलाई श्रद्धामय बनाउन ९ वर्षीया दीपसना सापकोटा, १५ वर्षीया अभियान देवी, पण्डित केदारनाथ देवकोटा, पण्डित नेत्र प्रसाद पराजुली, र पण्डित टीका सुवेदीजस्ता विद्वानहरूले कथा वाचन गरिरहेका छन्।
कार्यक्रममा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति, श्री हिन्दु प्रतिष्ठान नेपाल, ॐकार महाअभियान करौली शंकर पुर्वज मुक्ति धाम, र ॐ सनातन बोन झाँक्री संघ नेपाल लगायत संस्थाहरूको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रमका अध्यक्ष सागर थापा भन्छन्, “यहाँ आउनुहोस्, कथा सुनौं, सेवा गरौं। हामी तपाईंलाई दान माग्दैनौं, केवल तिल र तुलसी चढाउनुहोस्, तपाईंको उपस्थिति नै अमूल्य छ।”
त्यसैगरी ॐ समाज डेन्टल अस्पतालकी शाखा प्रमुख सबिना पपन गुरुङ भन्छिन्, “पशुपतिको पवित्र माटोमा सेवा गर्न पाउनु गौरवको कुरा हो। हामी श्रद्धा र हर्षका साथ सेवा गरिरहेका छौं।”
धार्मिक, सामाजिक र मानवीय सेवाको त्रिवेणी बनेको यो महाअनुष्ठानले समाजमा आस्था, सेवा र सहकार्यको नयाँ प्रेरणा दिएको छ। पशुपतिनाथ क्षेत्रमै पहिलोपटक यस्तो स्तरको समन्वित अनुष्ठान र सेवा कार्यक्रम सञ्चालनमा आउनु ऐतिहासिक उपलब्धि हो।

