काठमाडौं, असार २३ –
नेपाल चिकित्सक संघको आह्वानमा आजदेखि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै संघले यस्तो कदम चालेको हो।
देशकै पुरानो वीर अस्पतालमा समेत अहिले नियमित सेवा ठप्प छ। अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार फलोअपका बिरामीलाई आंशिक सेवा दिइए पनि नयाँ तथा अन्य सबै सेवा स्थगित गरिएको छ। उनले भने, “सङ्घको निर्देशन अनुसार आकस्मिकबाहेक सेवा दिन सकिएको छैन। आकस्मिक सेवा भने सुचारु छ।”
संघले असार १७ गतेदेखि कालोपट्टी बाँधेर विरोध सुरु गरेको थियो भने आजदेखि त्यसलाई थप चर्काउँदै सेवा नै बन्द गरेको हो। संघले उपभोक्ता अदालतको निर्णय चिकित्सकहरूप्रति अन्यायपूर्ण भएको बताउँदै चेतावनीस्वरूप कडा कदम चालेको हो।
उपभोक्ता अदालतले ग्रान्डी अस्पतालका चिकित्सकमाथि बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। संघका अनुसार यस्तो फैसला चिकित्सकीय पेशामा काम गरिरहेका व्यक्तिहरूको मनोबल घटाउने र स्वास्थ्य सेवा प्रणालीमै नकारात्मक असर पार्ने खालको छ।
अस्पतालको सेवा ठप्प हुँदा नियमित उपचारका लागि आएका बिरामी मर्कामा परेका छन्। कतिपय बिरामी बिहानै अस्पताल पुगे पनि सेवा नपाएर रित्तै फर्कनुपरेको छ।
स्वास्थ्य सेवा जस्तो अत्यावश्यक क्षेत्रमा देखिएको यस्तो अवरोधले गम्भीर चासो उत्पन्न गराएको छ। अहिलेको अवस्थामा सम्बन्धित पक्षहरूबीच सहमति जुटाएर समस्याको समाधान गर्नुपर्ने आवाज चुलिँदै गएको छ।

