काठमाडौं, असार २३ – नेपाल एसबिआई बैंक लिमिटेडले १० वर्षे अवधि रहेको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार ३० गतेदेखि उक्त ऋणपत्रको बिक्री खुला गर्नेछ।
बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। प्रत्येक ऋणपत्रको अंकित मूल्य रु. १,००० रहेको छ। जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनमा आवेदन दिने म्याद छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गतेसम्म रहनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

