काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम गर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएकी छन्।
आइतबार पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा मन्त्री गौतमले कुनै पनि तह वा निकायबाट भ्रष्टाचार वा आर्थिक अनियमितता सह्य नहुने चेतावनी दिइन्।
उनले भनिन्—“कुनै पनि स्तरमा, कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक तथा प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु हुँदैन।”
मन्त्री गौतमले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउने वा दुःख दिने कार्य पनि भ्रष्टाचारकै रूप हो भन्दै त्यसबाट टाढा रहन कर्मचारीलाई आग्रह गरिन्।
उनले थपिन्—“सेवाग्राहीलाई काखापाखा गर्ने, ढिला–सुस्ती गर्ने, यो पुगेन त्यो पुगेन भनी आलटाल गर्ने र सानो कामका लागि बारम्बार धाउनुपर्ने अवस्था पनि भ्रष्टाचारकै अंग हुन्। यस्तो अभ्यास अन्त्य गर्न सबैजना जिम्मेवार बन्नुपर्छ।”
मन्त्री गौतमले मन्त्रालयअन्तर्गतका शाखा र विभागहरूले जनमुखी सेवा प्रवाह गर्नुपर्ने बताउँदै स्वास्थ्य क्षेत्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले पारदर्शिता र उत्तरदायित्व अझै बढाउनुपर्नेमा जोड दिइन्।

