काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै नेपालीमा आह्वान गरेकी छिन्।
छठ पर्वको अवसरमा आइतबार जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले सूर्य आराधनासँग सम्बन्धित यो पर्वले जस्तै राष्ट्रिय ऐक्यबद्धताको भावना जगाउने अवसर निर्वाचन पनि बन्नुपर्ने बताएकी हुन्।
सन्देशमा भनिएको छ— “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।”
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नु अहिलेको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छिन्। उनका अनुसार सबै पक्षले परिस्थितिको संवेदनशीलता बुझी लोकतान्त्रिक अभ्यास सुदृढ पार्न योगदान दिनु आवश्यक छ।
उनले सडक प्रदर्शनलाई मात्र समस्या समाधानको माध्यम ठान्न नहुने बताएकी छन् । उनले भनिन्, “अडान वा असन्तुष्टि छन् भने शान्तिपूर्ण रूपमा जनतालाई मन जित्दै निर्वाचनमार्फत अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम मार्ग हो।”
प्रधानमन्त्री कार्कीका अनुसार छठ जस्ता पर्वहरूले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको सन्देश दिने गर्छन्। अहिलेको अवस्थामा नेपालीबीच अझ बढी एकता र सहअस्तित्वको भावना जगाउन यस्ता पर्वहरूले प्रेरणा दिने उनले उल्लेख गरिन्।
सन्देशमा उनले थपेकी छन्— “पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी–तलाउका किनाराका उत्सवले दिने शक्तिले सबैमा सद्भाव, आशा र खुशी छाओस्।”
प्रधानमन्त्री कार्कीका अनुसार छठ पर्व सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित पर्व हो, जसले तराई र पहाडबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै राष्ट्रिय एकताको सेतुका रूपमा भूमिका खेल्दै आएको छ।

