काठमाडौं । एनसेलले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माइकल फोलेलाई नियुक्त गरेको छ । उनको कार्यकाल कार्तिक १५ देखि लागू हुने कम्पनीले जनाएको छ ।
फोलेको नियुक्तिसँगै कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका सैयद इनामुल कबीरले पुनः कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ)का रूपमा निरन्तरता दिनेछन् ।
दुई दशकभन्दा बढीको दूरसञ्चार नेतृत्व अनुभव बोकेका फोलेले यसअघि एयरटेल, टेलिनोर पाकिस्तान, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर बुल्गेरियामा सीईओको भूमिका निर्वाह गर्दै कम्पनीहरूलाई उल्लेखनीय व्यवसायिक सफलता दिलाएका थिए ।
टेलिनोर पाकिस्तानका सीईओ रहँदा उनले कठिन व्यवसायिक वातावरणबीच पनि कम्पनीलाई नाफामुखी बनाउँदै बजार हिस्सा, नाफा र कर्मचारी संलग्नता बढाएका थिए । ग्रामीणफोन र टेलिनोर बुल्गेरियामा उनले ग्राहक संख्या ७ करोडभन्दा माथि पु-याएका थिए भने ईबिट्डा (EBITDA) ६० प्रतिशतभन्दा बढीले वृद्धिदर कायम गरेका थिए ।
फोलेले टामीर माइक्रोफाइनान्स (हाल इजीपैसा)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका थिए । हाल उनी अफ्रिकास्थित अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन् ।
सिइओमा नियुक्तिपछि आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौंमा एनसेलको जिम्मेवारी लिन पाउँदा म अत्यन्तै खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले डिजिटल रूपान्तरण, आर्थिक प्रतिस्पर्धात्मकता र विदेशी लगानी आकर्षणमा ठूलो भूमिका खेल्ने क्षमता राख्छ ।”
उनले थपे, “आजको डिजिटल, एआई–पावर्ड युगमा दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनन् । हामी समाजको डिजिटल संरचना बुन्ने मुख्य आधार भइसकेका छौं । यी सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्दै आगामी पुस्तालाई सशक्त बनाउन हामी प्रतिबद्ध छौं ।”
एनसेलको सञ्चालक समितिले फोलेप्रति विश्वास व्यक्त गर्दै भनेको छ—“हामी एनसेलमा उनको स्वागत गर्न पाउँदा खुशी छौं । उनको रणनीतिक दृष्टिकोण र अन्तर्राष्ट्रिय अनुभवले कम्पनीको रूपान्तरण र समुदायप्रति सेवा प्रतिबद्धता अझ बलियो बनाउनेछ ।”
क्यानडा–केन्या दुबै नागरिकता भएका फोलेले म्याकगिल विश्वविद्यालयबाट स्नातक र इनसीड (INSEAD) बाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा कार्यकारी प्रमाणपत्र हासिल गरेका छन् ।
सन् २००४ मा स्थापना भई २००५ देखि सेवा सुरु गरेको एनसेल नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । कम्पनीले “हरेक नेपालीलाई जोड्ने” लक्ष्यका साथ कनेक्टिभिटीका लाभहरू विस्तार गर्दै आएको छ ।

