वैदेशिक रोजगारमा जाँदा लाग्ने मेडिकल शुल्क ६,५०० कायम
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज गरेका छन्। मन्त्री भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै कात्तिक ३० गते गरिएको शुल्क वृद्धि सम्बन्धी निर्णय खारेज गरेका हुन्।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याउने निर्णय कार्यान्वयनका लागि व्यवसायीहरूलाई पत्राचार गरेको थियो।
तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले २०८१ चैत ८ गते ६ हजार ५ सय रुपैयाँ रहेको शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याउने निर्णय गरेका थिए।
स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन ३४ प्रकारका परीक्षण गर्नुपर्ने भन्दै उक्त शुल्क निर्धारण गरिएको थियो।
तर शुल्क वृद्धि भएपछि चौतर्फी विरोध चर्किएसँगै प्रधानमन्त्री सुशीला कार्कीले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार मन्त्री भण्डारीले शुल्क वृद्धि सम्बन्धी निर्णय खारेज गरेका हुन्।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि खारेज गरिएको र अब पुरानै शुल्कमा स्वास्थ्य परीक्षण हुने जानकारी दिए।
घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको मिति २०८२/०९/०४ को माननीय मन्त्रीस्तरको निर्णयबाट मिति २०८२/०७/३० को निर्णयअनुसार भएको शुल्क वृद्धि खारेज गरिएको व्यहोरा अनुरोध छ। तसर्थ, वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण र परीक्षण शुल्क साविक बमोजिम नै हुनेगरी कार्यान्वयन गर्नु गराउनु हुन सम्बद्ध सबैमा जानकारी गराइन्छ।’

