काठमाडौँ। नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो वरीयतामा राखिएका छन्।
महाधिवेशनपछि शुक्रबार कार्की ब्यांकेटमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरीयतामा राखिएको हो। बैठकमा अध्यक्ष ओलीको दाहिनेपट्टि पहिलो स्थानमा बादल बसेका थिए।
त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तको वरीयता तय गरिएको छ। बादलसहित पाँचै जना उपाध्यक्षमा निर्वाचित भएका हुन्।
दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ वरीयतामा थिए। त्यसबेला दोस्रो वरीयतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य थिए। यस पटक भने वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ।
यसअघिदेखि उपाध्यक्ष रहेका विष्णुप्रसाद पौडेल दशौँ महाधिवेशनमा छैटौँ वरीयतामा थिए भने अहिले तेस्रो वरीयतामा उक्लिएका छन्।
पृथ्वी सुब्बा गुरुङ दशौँ महाधिवेशनमा उपमहासचिव निर्वाचित भई ११औँ वरीयतामा थिए। यस पटक उनी उपाध्यक्ष बनेका छन्।
त्यस्तै, गोकर्ण विष्ट सचिवबाट उपाध्यक्षमा पदोन्नति भएका हुन्। दशौँ महाधिवेशनमा सचिव निर्वाचित विष्ट त्यसबेला १४औँ वरीयतामा थिए।
रघुजी पन्त भने स्थायी कमिटी सदस्यबाट सिधै उपाध्यक्ष बनेका हुन्। उनी दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भई २३औँ वरीयतामा थिए। पन्त हाल छैटौं वरीयतामा रहेका छन् ।
महासचिवमा पुनः निर्वाचित शंकर पोखरेल नयाँ केन्द्रीय कमिटीमा सातौँ वरीयतामा रहेका छन्। उनी अघिल्लो केन्द्रीय कमिटीमा नवौँ वरीयतामा थिए।
यसैगरी उपमहासचिव निर्वाचित लेखराज भट्ट आठौं, रघुबीर महासेठ नवौं र योगेश भट्टराई दशौं वरीयतामा रहेका छन् ।
दशौं वरीयतापछि महाधिवेसनबाट निर्वाचित ९ सचिवको वरीयता रहेको छ ।

