– जयराम बिडारी
पुस ४, काठमाडौं
स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यका साथ बी एण्ड बी अस्पताल र कोरियन एसोसिएशनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ। ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा आयोजित विशेष कार्यक्रममा अस्पतालका वरिष्ठ प्रतिनिधि र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
समझदारी अनुसार नेपालमा बसोबास गर्दै आएका कोरियन समुदाय तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। सम्झौतामा स्वास्थ्य सचेतना कार्यक्रम, ओपिडी सेवा, भर्ना, आपतकालीन उपचार तथा रोग निदान (डायग्नोस्टिक) सेवामा सहज पहुँच र सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा बी एण्ड बी अस्पतालका प्रतिनिधि र कोरियन एसोसिएशनका अध्यक्ष चा सुङ वोनले हस्ताक्षर गरेका थिए। समारोहमा बोल्दै अस्पतालका सञ्चालक प्रा.डा. जगदीशलाल बैद्यले महँगो बन्दै गएको स्वास्थ्य सेवाको चुनौतीबीच आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत बी एण्ड बी अस्पतालले सर्वसुलभ र प्रभावकारी सेवा दिँदै आएको बताए। उनले कोरियन समुदायसँग औपचारिक सहकार्य गर्न पाउनु उपलब्धिमूलक भएको उल्लेख गर्दै यसले आपसी सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी अस्पतालका अर्का सञ्चालक प्रा.डा. अशोक बासकोटाले निजी अस्पताल भए पनि आर्थिक रूपमा कमजोर तथा दिनहिन बिरामीलाई निःशुल्क सेवा प्रदान गर्दै जीवन रक्षा गर्न पाएकोमा सन्तोष व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सरकारी अस्पताललाई सहयोग गर्दै आएको र भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए। कोरियन समुदायलाई औपचारिक रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो।
कार्यक्रममा कोरियन एसोसिएशनका अध्यक्ष चा सुङ वोनले बी एण्ड बी अस्पतालसँग औपचारिक सम्झौता हुनुलाई खुशीको विषय बताउँदै अस्पतालको विश्वसनीयता र गुणस्तरीय सेवाबाट कोरियन समुदाय लाभान्वित हुने विश्वास व्यक्त गरे।
समारोहको अन्त्यमा अस्पताल परिवारको तर्फबाट कोरियन राजदूत पार्क ते यङ र एसोसिएशनका अध्यक्ष चा सुङ वोनलाई मायाको चिनो प्रदान गरिएको थियो।

