काठमाडौँ। अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डमा प्रयोग भएको भन्दै ग्रिन कार्ड लटरी (डाइभर्सिटी भिसा) कार्यक्रम रद्द गर्ने आदेश दिएकी छन्।
घटनामा पोर्चुगलका नागरिक क्लाउडियो नेभेस भ्यालेन्टे संलग्न रहेको आशंका गरिएको छ।
नेभेस भ्यालेन्टेमाथि डिसेम्बर १३ मा आइभी लिग विश्वविद्यालय ब्राउन युनिभर्सिटीको भवनमा परीक्षा दिइरहेका विद्यार्थीमाथि गोली चलाएको आरोप छ। घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
यसैबीच, उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का एक प्राध्यापकको हत्या गरेको आरोप पनि लागेको बताइएको छ।
सुरक्षा प्रमुख नोमले सामाजिक सञ्जालमार्फत नेभेस भ्यालेन्टे सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभी–१) मार्फत संयुक्त राज्य अमेरिका प्रवेश गरी ग्रिन कार्ड प्राप्त गरेको दाबी गरेकी छन्।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार तत्कालै संयुक्त राज्य अमेरिकाको नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) लाई ग्रिन कार्ड लटरी कार्यक्रम रोक्न निर्देशन दिइएको जानकारी गराइन्।
नोमका अनुसार उक्त कार्यक्रम निलम्बन गर्नुको उद्देश्य ‘विनाशकारी’ ठहरिएको प्रणालीबाट थप अमेरिकी नागरिकलाई क्षति हुन नदिनु हो।
साथै, आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेशको अनुमति दिन नहुने उनले स्पष्ट पारेकी छन्।

