काठमाण्डौ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। नेपाली कांग्रेससहित सात दलको समर्थनमा बनेको यादव नेतृत्वको सरकारले विश्वासको मत पाएको हो।
मधेश प्रदेशसभामा उपस्थित ९२ जना सदस्य सबैले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन्। विपक्ष वा तटस्थतर्फ एक मत पनि परेको छैन। प्रदेशसभामा सरकार गठन तथा निरन्तरताका लागि ५४ मत आवश्यक पर्ने व्यवस्था छ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत मागेका थिए, जसमा प्रदेशसभाका सबै दलले समर्थन जनाएका हुन्।
नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णाप्रसाद यादवलाई नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका छन्।

