काठमाडौं । साहित्यकार एवम् साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि शर्मा अस्पताल भर्ना भएका हुन् ।
शुक्रवार छातीमा असजिलो भएपछि अस्पताल पुगेका शर्मालाई हल्का हृदयाघात भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपचारको क्रममा उनको मुटुमा ब्लकेज देखिएपछि स्टेन्ट राखिएको पारिवारिक श्रोतले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ ।
साहित्यिक क्षेत्रमा उपन्यासकार तथा कथाकारको परिचय बनाएका शर्मालाई “अभिव्यक्ति” मासिक साहित्यिक पत्रिकाका संस्थापक सम्पादकको रूपमा नेपाली साहित्यमा विशेष सम्मानका साथ लिने गरिन्छ । साहित्यकार शर्मा साहित्यिक पत्रकार संघका अध्यक्ष समेत हुन् भने उनका कथा एवम् उपन्यासका चार कृति प्रकाशित छन् ।

