काठमाडौं । डा. घनश्याम पुडासैनीद्वारा लिखित ‘अमर अधिकारी: व्यक्तित्व र कृतित्व’ लोकार्पण भएको छ। कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ ओैँ जन्मजयन्तिको अवसरमा सोमबार तारकेश्वर नगरपालिका वडा नं. १० स्थित मनमैजु साँस्कृतिक समाजको सभाहलमा पुस्तक लोकार्पण कार्यक्रम भएको हो ।
नेपाल सरकारका पूर्वसचिव एवम् साहित्यकार डा.दामोदर रेग्मी, साहित्यकारहरू डा दामोदर पुडासैनी, श्रीराम खनाल, रामप्रसाद पन्त, स्रोत व्यत्क्तित्व अमर अधिकारी, लेखक डा घनश्याम पुडासैनीलगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।

प्रमूख अतिथी गीतकार पूर्व सचिव डा दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा घनश्याम पुडासैनी र पुस्तकका पात्र अमर अधिकारीलाई २५ वर्षदेखि नै चिन्दैआएको र दुबैजना असल सहकर्मी र असल स्रस्टा रहेको कुरा बताउँदै प्रस्तुत पुस्तक सङ्ग्रहयोग्य रहेको बताए। पुस्तकमा थप मेहनत गर्न आवश्यक रहेको समेत डा रेग्मीले बताउँदै लेखक एवम् साहित्यकारले लेखनमा आफ्नो पूरा शक्ति लगाएर समाजलाई नै अर्को दिशा दिन सक्नेगरी लेख्नुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष तथा सङ्गीतकर्मी ध्रुवराज खड्काको सभापतित्वमा महासचिव तारा केसीले सञ्चालन गर्नुभएको लोकार्पण कार्यक्रममा पुस्तकमाथि श्रीराम खनालले समीक्षा गरेका थिए । खनालले डा पुडासैनीको यो कार्य प्रशंसनीय भएको बताए । मोतिराम भट्ट नभएको भए भानुभक्त ‘भानुभक्त’ हुँदैनथे भन्दै खनालले पुडासैनीले रोल्पामा जन्मिएको एक जना सामान्य व्यक्तिको जीवनसंघषलाई पाठकसामु ल्याएर नेपाली साहित्यलाई ठूलो गुन लगाएको बताए ।
साहित्यकार डा. दामोदर पुडासैनी, लेखक डा. घनश्याम पुडासैनी एवम् स्रोत व्यक्ति लेखक एवम् साहित्यकार अमर अधिकारी लगायतले समेत मन्तव्य राखेका थिए।
कवि शिरोमणी लेखनाथ पौड्यालको तस्विरमा माल्यार्पणसहित आरम्भ गरिएको कार्यक्रममा समाजका कार्यसमिती सदस्य ज्ञानहरि ढकालले शब्दमार्फत सहभागीलाई स्वागत गरेका थिए ।

