-जयराम बिडारी
हेलम्बु सिन्धुपाल्चोक
भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय विशेष कविता वाचन प्रतियोगिता भूमेश्वरी माध्यमिक विद्यालयको प्राङ्गण हेलम्बु २ स्थित किउलमा सम्पन्न गरिएको छ ।
कविता प्रतियोगितामा विभिन्न आठ विद्यालयबाट सहभागिता जनाएका सोह्रजना विद्यार्थीहरु मध्य सरस्वती माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा तामाङले पहिलो स्थान हासिल गर्न सफल भइन् भने इष्ट पोइन्ट एकेडेमिकी आशिका केसि दोस्रो,भूमेश्वरी मावि बाट लक्ष्मी सुनार तेस्रो र सर्वोदय माध्यमिक विद्यालयकी सिर्जना तामाङ र बोधिसत्व मोडल स्कुलका सिदार्थ पुरीले सान्त्वना स्थान हासिल गरेका थिए ।
कविता बाचन प्रतियोगितामा निर्णायकको भूमिका डा.रमेश शुभेच्छु, माधव घिमिरे अटल र जयराम बिडारीले गरेका थिए । सो अवसरमा पहिलो,दोस्रो,तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयले क्रमश: ४ हजार,३ हजार ,२ हजार र १–१ हजार पुरस्कार प्राप्त गरेका छन् । विजेता विद्यार्थीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत प्रतिष्ठानका सदस्यहरु,कवि तथा साहित्यकारहरुले पुरस्कार वितरण गरेका थिए ।
हेलम्बु गाउँपालिकाको सहयोगमा मेलम्ची साहित्य प्रतिष्ठानको सहकार्य तथा भूमेश्वरी माध्यमिक विद्यालयको आयोजनामा विद्यार्थीसंग कुलपति तथा अध्यक्षसंग बालबालिका कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइको प्रमुख आतिथ्य, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीको विशेष आतिथ्यमा, प्राज्ञ द्वय डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, कवि डा. रमेश शुभेच्छु ,कवि तथा पत्रकार माधव घिमिरे अटल, मेलम्ची सहित्य प्रतिष्ठानका पदाधिकारी, शिक्षक विद्यार्थी र साहित्यानुरागीहरुको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षमा सुसम्पन्न गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आफुले हेलम्बुका बारेमा गीत,कविता,आख्यान मार्फत थुप्रै पढेको सुनेको तर आफै प्रत्यक्ष आइपुग्दा हेलम्बु अत्यन्त सुन्दर लागेको बताए । आफूले संघियताको सफल रुपमा कार्यान्वयन हेलम्बुले गरिरहेको संस्कार संस्कृति एक आपसमा मिलेर बसेको पाएको बताए । हेलम्बु सवै भाषाभाषीहरुको संमिश्रणको अनुपम नमूना रहेको बताएका छन् । २०१४ सालमा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानले स्थानीय संस्कार र संस्कृतिलाई केन्द्रिकृत रुपमा नभइ जनमनको भावना सँग जोड्नुपर्ने आवश्यकताको महसुस गरी ‘सवै भाषा सवै ज्ञान सवैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारा अङ्गीकार गरिएको बताउँदै विद्यालयमा कुलपति कार्यक्रम गरिरहेको उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्वास्थ्य र शिक्षा निःशुल्क भएमा मात्र नागरिको जिवनस्तरमा सुधार आउने बताउँदै हेलम्बु गाउँपालिकाले आफ्नो सिमित स्रोत साधनको बाबजुद पनि नमूना योजनाको रुपमा यसमा लगानी बढाइरहेको बताए । उनले गाउँपालिकाको आन्तरिक स्रोतबाट १२ कक्षासम्मको निःशुल्क शिक्षा,दिवा खाजा निःशुल्क बिज्ञान शिक्षा ,होटल म्यानेजमेन्ट लगायतका कक्षाहरु सञ्चालन गरिरहेको र निकट भविष्यमा कम्प्यूटर साइन्स लगायतका अन्य कक्षाहरु थप गर्न लागिएको भन्दै आफ्नो पालिकामा स्नातक सम्मको अध्ययन समेत निःशुल्क गराउन लागिएको शेर्पाले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष शेर्पाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायतका टोली हेलम्बु आउनु खुशिको कुरा भएको बताउँदै विगतमा पनि धेरै कबि साहित्यकारहरु हेलम्बु आएको स्मरण गरे । सो अवसरमा उनले साहित्य सिर्जनाको लागि हेलम्बु उर्वरभूमि रहेको समेत स्पष्ट पारे ।
उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब डाक्टर धनप्रसाद सुवेदीले वर्तमान संविधानले प्रदेश सरकार र स्थानीय सरकारलाई समेत प्राज्ञिक अधिकार दिएकाले अब प्रज्ञा प्रतिष्ठानले भाषा, कला साहित्यको संरक्षण र सम्वर्द्वन गर्नका लागि अभियानको थालनी गर्न लागिएको बताउंदै प्रदेश र स्थानीय तहसम्म पुगेर सहजीकरण गर्ने बताए ।यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर मधुसूदन गिरीले बालबालिकाको अनुहारमा भोलीका प्रशासक,राजनैतिक नेतृत्व तथा प्रतिष्ठानको कुलपतिको छवि रहेको बताउँदै अनुकूल वातावरणमा यीनको संरक्षण गरिनुपर्नेमा जोड दिंदै भोलिको भविष्यलाई काँधमा बोकिरहेको बालबालिकाको यथोचित विकासका लागि उनिहरुको प्रतिभा र क्षमतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने योजना बनाएर अघि बढ्न आग्रह गरे ।
सो अवसरमा अर्का प्राज्ञ डाक्टर कृष्णराज अधिकारीले हेलम्बुको चर्चा धेरै पहिला देखी पढेको र सुनेको बताउँदै अहिले हेलम्बुमै आएर आफ्ना भनाइ राख्न पाएकोमा खुशी लागेको बताए । उनले बालबालिकाको भौतिक विकास संगसंगै सामाजिक,शैक्षिक र गुणस्तरीयता विकासमा जोड दिन आग्रह गरे । उनले प्रज्ञा प्रतिष्ठानलाई काठमाडौमा मात्र सिमित गर्न नहुने भनेर गाउँ गाउँका विद्यालयमा समेत यस्तै प्रभावकारी कार्यक्रमका माध्यमबाट पुग्ने गरेको बताए । प्रमुख अतिथिद्वारा द्वीप प्रज्वलन गरी समुद्घाटन गरिएको कारमा विद्यार्थीहरुद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो भने सहभागी विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरी अतिथि लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा मेलम्ची साहित्य सदनका अध्यक्ष यमबहादुर जोतीले अभ्यागतहरुलाई स्वागत गरेका थिए भने विद्यालयका शिक्षक ध्रुवबहादुर चौलागाईंले कार्यक्रमको सहजीकरण गरेका थिए । सो अवसरमा कार्यक्रमका समाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका मोदनाथ भण्डारीले धन्यवाद सहित सभा विसर्जन गरेका थिए ।

