काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई चार प्रकारका वर्गमा विभाजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राविधिक समितिको अध्ययनपछि घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी वर्गीकृत गरिएको हो।
यसका लागि मन्त्रालयले गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो। समितिले प्रदर्शनका क्रममा शरीरमा परेको चोटपटकको प्रकार र गम्भीरतालाई आधार बनाएर वर्गीकरण गरेको बुढाथोकीले बताए।
वर्गीकरण अनुसार—
अति गम्भीरका २३ प्रकारका चोटपटक, गम्भीरका २१ प्रकार, मध्यम घाइतेका २३ प्रकार, सामान्य घाइतेका ११ प्रकार छुट्याइएका छन्।
सरकारले वर्गीकृत घाइतेहरूलाई विशेष परिचयपत्र उपलब्ध गराउने तयारी गरेको छ। साथै, सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै तत्काल वर्गीकरण कार्य सम्पन्न गर्न निर्देशन दिइएको मन्त्रालयले बताएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ‘जेनजी’ प्रदर्शनमा २ हजार ५७२ जना घाइते भएका थिए। तीमध्ये ११ जना अझै अस्पतालमा उपचाररत छन्।
सरकारले यो निर्णयमार्फत घाइतेहरूको उपचार, क्षतिपूर्ति र आवश्यक व्यवस्थापनका कार्यलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखेको बताइएको छ।

