१९९० सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको हो। २००७ सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको हो । २०१९ सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको हो। २०३४ सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको छ । २०३७ सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको हो । २०४०साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको हो। २०५० श्रावण १ गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको छ । टेकु अस्पताल विकास समिति गठन २०४९ अनुसार २०५३ साल जेष्ठ २९ गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको हो। २०५३ साल माघ ११ गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको छ । २०५४ मार्ग ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको थियो । हाल यस अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी १०० शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा संचालनमा रहेको छ ।

