रसुवा । चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको भीड पछिल्ला दिनमा फेरि बढ्न थालेको छ। विभिन्न रोग निको हुने विश्वास गरिएको तातोपानी कुण्ड २०७२ सालको भूकम्पपछि प्रभावित भए पनि हाल पुनः तातोपानी निस्किन थालेपछि यहाँ आउनेको संख्या उल्लेख्य रूपमा बढेको हो।
आमाछोदिङ्मो गाउँपालिका–५ मा रहेको तातोपानी कुण्डमा दैनिक १०–१५ जना हाराहारीमा भक्तजन पुग्ने गरेको स्थानीयवासी सिङ्गी तामाङ बताउँछन्। उनका अनुसार तातोपानीको धारामा स्नान गरेपछि शरीरका अनेकौं रोगमा राहत मिल्ने विश्वास छ।
करीब दुई दशकअघिदेखि गाउँमा पर्यटनमार्फत गरिबी निवारण कार्यक्रम सञ्चालन भइरहेको छ। यही कार्यक्रमअन्तर्गत कुण्डमा ढुङ्गेधारा र पोखरी निर्माण गरिएपछि तातोपानीमा आउनेको संख्या थप बढेको हो।
नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङकी ६४ वर्षीया लालीमाया तामाङ तातोपानी नुहाएपछि आफ्नो धेरै शारीरिक समस्या घटेको बताउँछिन्। यस्तै, विदुर नगरपालिका बट्टारका रामप्रसाद पौडेल र देवकी पौडेलले समेत तातोपानी स्नान शारीरिक रोग निवारणका लागि निकै प्रभावकारी रहेको अनुभव सुनाए।
रसुवा तथा आसपासका जिल्लाबाट तातोपानीमा स्नान गर्न आउनेको संख्या निरन्तर बढ्दै गएको स्थानीयले बताए।

