रुपन्देही । नेपाल आयल निगमको भलबारी डिपोमा उचित पार्किङ सुविधा अभाव हुँदा ३०० भन्दा धेरै ट्याङ्कर चालक वर्षौँदेखि सडकमै जोखिम मोलेर पार्किङ गरिरहेका छन्। दुई दशकदेखि ट्याङ्कर चलाउँदै आएका चालक दामोदर खरेलका लागि ‘ट्याङ्कर कहाँ राख्ने ?’ भन्ने चिन्ता दैनिक समस्या बनेको छ।
डिपोभित्र पार्किङ क्षेत्र नहुँदा कहिले सडक किनार, कहिले स्थानीय बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यताले चालकहरू निरन्तर हैरानी झेलिरहेका छन्।
“सडकमै राख्दा दुर्घटनाको खतरा ठूलो छ, ट्राफिक प्रहरीले पनि कारबाही गर्छ,” खरेल भन्छन्, “सर्भिस लेनबाट डिपो भित्रिने बेलामा त जामले जोरै खाइविन्छ।”
डिपोलाई घेरेको सहर, जोखिममा स्थानीय
२०३६ सालमा भलबारी गाउँ रहेको समयमा स्थापना गरिएको डिपो घना बस्तीको बीचमा रहेको छ। छिमेकी मनकामना टोलका अध्यक्ष विसन शाही भन्छन्, “घरछेउमै पेट्रोल, डिजेल बोकेका ट्याङ्कर लाइन लागेर राख्दा जोखिम बढ्छ।”
केही वर्षअघि डिपोमा लागेको आगलागीपछि स्थानीयले सुरक्षा चिन्ता झनै गम्भीर रूपमा उठाएका छन्। डिपो सार्न माग गर्दै अनेकौं पटक ज्ञापनपत्र हस्तान्तरण गरिएको संघर्ष समितिका संयोजक गंगा शाही बताउँछन्।
ज्ञापनपत्रमा—डिपो तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने, नयाँ व्यवस्था नभएसम्म ट्याङ्करसाठी निश्चित पार्किङ क्षेत्र बनाउने, बुटवल–भैरहवाको ६ लेन सडकको सर्भिस लेनमा ट्याङ्कर पार्किङ हटाउने
जस्ता मागहरू समावेश गरिएको छ।
निगम : ‘जग्गा नभएकाले विस्तार असम्भव’
लुम्बिनी प्रादेशिक डिपो प्रमुख शैलेन्द्र भुसाल भन्छन्, “भलबारी डिपोमा थप पूर्वाधार बनाउन जग्गा छैन। पार्किङ क्षेत्र नै नभएकाले ट्याङ्कर सडकमै राख्नुपर्ने अवस्था छ।”
उनका अनुसार डिपो ‘घनाबस्तीको बीच’ रहेकाले ठाउँ विस्तार र भण्डारण क्षमता बढाउने कुनै सम्भावना बाँकी छैन।
भलबारी डिपोबाट रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व तथा बागलुङका केही पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ। २०० भन्दा बढी डिलर र करिब ३०० ट्याङ्कर डिपोसँग संलग्न छन्।
मौज्दात न्यून : दुई दिनमै पेट्रोल सकिने अवस्था
डिपोमा हाल—पेट्रोल : ५१९ किलोलिटर, डिजेल : ३,०५० किलोलिटर, मट्टितेल : १४० किलोलिटर भण्डारण क्षमता मात्र छ।
दैनिक ढुवानी–बिक्री पेट्रोल : ३०० किलोलिटर, डिजेल : ७०० किलोलिटर, मट्टितेल : १२ किलोलिटर रहेको छ ।
यसअन्तर्गत डिपोमा अधिकतम २–४ दिनकै माग धान्ने मौज्दात हुने भएकाले सडक अवरुद्ध हुनेबित्तिकै डिपो ‘रित्तिने’ खतरा खडा हुन्छ।
“लोड नआए दुई दिनमै पेट्रोल र चार दिनमै डिजेल सकिन्छ,” प्रमुख भुसाल भन्छन्।
केही महिना अघि अमलेखगञ्ज–बुटवल सडक वर्षाका कारण ठप्प हुँदा डिपोले पोखराबाट इन्धन तान्नुपरेको थियो।
रोहिणीमा नयाँ आधुनिक डिपोको आशा
निगमले रुपन्देहीकै रोहिणी क्षेत्र डिपो सार्ने उद्देश्यले जग्गा व्यवस्थापन गरिसकेको छ।
व्यवसायीहरूका अनुसार, त्यहाँ पर्याप्त खुला क्षेत्र रहेको र आधुनिक पूर्वाधारसहित सुरक्षित डिपो बन्ने आशाले चालक र स्थानीय दुवै उत्साहित छन्।
तर प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।

