काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज (मंगलबार) लुम्बिनी लायन्स र काठमाडौँ गुर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिँउसो ४ बजेदेखि सुरु हुने यी दुई टोलीबीचको खेललाई ‘कमब्याक क्ल्यास’का रूपमा हेरिएको छ ।
कप्तान करन केसीको काठमाडौँ र राष्ट्रिय कप्तान रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी दुबै समान २–२ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। दुवै आजको खेल जितेर तालिकामा स्थिति सुधार्ने योजनामा छन् ।
काठमाडौँले तीन खेलमध्ये पहिलोमा जनकपुरलाई ५ विकेटले हराउँदै उत्कृष्ट शुरुवात गरे पनि त्यसयता लय जोगाउन सकेको छैन। टोली सुदूरपश्चिमसँग २९ रनले र विराटनगरसँग ५ विकेटले पराजित भएको थियो।
लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। तर दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको कडा हार बेहोर्नुपरेको छ।
अंकतालिकामा सुदूरपश्चिम र विराटनगर ६–६ अंकसहित शीर्ष दुई स्थानमा छन्। नेटरनरेटमा उत्कृष्ट रहेर सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा छन्।
दुई–दुई अंकजोडेका काठमाडौं, लुम्बिनी, चितवन र कर्णाली क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्।
दुई खेल खेले पनि जनकपुर र पोखराले अझै अंक खोल्न सकेका छैनन्।

