काठमाडौँ । नेपाल प्रहरीले मध्यवानेश्वर क्षेत्रबाट सुनचाँदीका गरगहनासहितका सामान चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बानेश्वरका टोलीले काठमाडौँ–३१ बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका विश्वकर्मासँग एक थान खुकुरी, सुनको औँठी, बाला, झुम्का, पाउजु, मोतीको माला, चाँदीको सिक्का लगायतका बहुमूल्य सामग्री बरामद भएको छ।
त्यस्तै, विदेशी मुद्राको २२ थान सिक्का, फलामको दुई थान रेन्ची, दुई थान सोनी क्यामेरा, चार्जर, भिडियो प्लेयर, मेमोरी कार्ड र सुनचाँदीको २७ थान बिल समेत प्रहरीले बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरेको छ।

