विभागद्वारा १९ उद्योग तथा पसलमा एकैसाथ अनुगमन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गरेको छ।
विभागले एकैपटक १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गरी ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको बिक्री तथा वितरण अब उप्रान्त नगर्न निर्देशन दिएको छ। सो क्रममा विभागले सम्बन्धित उद्योग तथा व्यवसायलाई सुधारात्मक निर्देशनसमेत दिएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग र दीक्षा स्टोरलाई आवश्यक निर्देशन दिइएको छ।
यस्तै, पशुपतिनाथ इन्टरप्राइजेज, युनिभर्सल ट्रेडर्सलगायतका प्लास्टिक उद्योग, पसल तथा आयातकर्तालाई पनि ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको बिक्री तथा वितरण नगर्न कडाइका साथ निर्देशन दिइएको विभागले जनाएको छ।
वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त निर्देशन जारी गरिएको विभागले प्रस्ट गरेको छ।

