काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

