काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट शक्तिलाई आफ्नो पार्टी नेकपामा एकताबद्ध हुन आह्वान गरेका छन्।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मुलुकको समृद्धि जनताको चाहनाअनुसार पूरा गर्न कम्युनिष्टबीच बृहत् राष्ट्रिय एकता अपरिहार्य भएको बताए ।
संयोजक दाहालले भने, “मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई सुदृढ गर्न आजको आवश्यकता भनेकै कम्युनिष्ट शक्तिबीचको बृहत् राष्ट्रिय एकता हो। हामी एकताबद्ध हुँदा मात्रै जेनजी पुस्ताको आकाङ्क्षा पूरा गर्न सक्छौँ।”
उनले जेनजी पुस्ताका युवाहरूले आफ्ना विचार, भावना र असन्तुष्टि खुला रूपमा राख्न सक्ने पार्टी नेकपा मात्रै भएको दाबी गर्दै राष्ट्रको एकता र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो पार्टीमा आएको उल्लेख गरे।
यसैबीच, नेपाल दलित मुक्तिमोर्चाका प्रतिनिधिसँग भएको भेटमा संयोजक दाहालले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गर्न आफ्नो पार्टीले लामो समयदेखि निरन्तर सङ्घर्ष गर्दै आएको बताए ।

