काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा मन्त्रालयको कार्यभार अन्य मन्त्रीहरूलाई तोकेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको जिम्मेवारी पुनः बाँडफाँड गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति तथा कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकेकी हुन्।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामलाई दिइएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

