काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेना परिचालन गरिने जानकारी दिए।
उनका अनुसार निर्वाचनको एक महिना अघिबाटै फिल्डमा सेना परिचालन गरिनेछ। “एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार निर्वाचनपूर्वदेखि नै सेनाले आफ्नो जिम्मेवारी सम्हाल्नेछ,” उनले भने।
एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन भइसकेको र सेनाको परिचालनसम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट समेत स्वीकृत भइसकेको प्रवक्ता बस्नेतले बताए। निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ।
निर्वाचनपूर्व चरणमा सेनाले मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी लिनेछ। सो कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा गरिने जनाइएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चार वटै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसँगको समन्वयमा तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गरिनेछ।
मतदानका दिन नेपाली सेना निर्वाचनस्थल तथा मतदान केन्द्रमा तेस्रो घेराको सुरक्षामा रहनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति गराइने सेनाले जनाएको छ।
मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानी, मतगणनास्थलको सुरक्षा लगायतका जिम्मेवारी पनि नेपाली सेनाले बहन गर्नेछ। विगतका निर्वाचनमा झैँ यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारी गरिएको छ।
निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गर्दै सरकारले थप सुरक्षा व्यवस्था मिलाउने बताइएको छ।
सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षालाई राज्यको प्राथमिक कार्यभारका रूपमा लिएर आफूहरू पूर्ण रूपमा तयार रहेको नेपाली सेनाले बताएको छ।

