काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना खुला गरेको छ।
मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) का अनुसार पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत निर्वाचन प्रहरीका लागि दरखास्त दिन सकिनेछ।
प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन्।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्नाका समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग आवद्ध नरहेको हुनुपर्नेछ।
नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा सुरक्षा सङ्गठनमा गत माघदेखि यही पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएका व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा छनोट गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यसैगरी, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा प्रदान गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा कार्य गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकताका साथ छनोट गरिने जनाइएको छ।
प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार माघ ५ देखि ९ गतेसम्म प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिने कार्यतालिका रहेको छ। माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिइनेछ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ। निर्वाचनको अवधि अनुसार कार्यअवधिमा हेरफेर हुन सक्ने सूचनामा उल्लेख छ।
सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) स्वीकृत गरिसकेको पनि प्रहरीले जनाएको छ।
निर्वाचन प्रहरीले कति पाउँछन् सुविधा ?
निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरुवाती तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि कुल ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्।
साथै, सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाउने दररेटअनुसार ४० दिनका लागि खाद्यान्नबापतको रकम निर्वाचन प्रहरीको व्यक्तिगत बैंक खातामा जम्मा गरिने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।
उनका अनुसार निर्वाचनमा खटिने क्रममा आउने–जाने तयारी खर्चस्वरूप प्रतिनिर्वाचन प्रहरीलाई एक पटकका लागि ८ सय ४६ रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, प्रतिदिन ३ सय रुपैयाँका दरले चार दिनका लागि एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च दिइनेछ।
नेपाल प्रहरी प्रधान कार्यालयले तोकेअनुसार पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले प्राप्त गर्नेछन्। कर्तव्य पालनको क्रममा निर्वाचन प्रहरी घाइते भएमा स्वयंले र मृत्यु भएमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ।
नेपाल प्रहरीद्वारा जारी सूचना 


