काठमाण्डौ — अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेन हाल प्रोस्टेट क्यान्सरको उपचारका क्रममा विकिरण (रेडिएसन) र हार्मोन थेरापी लिइरहेका छन्। बाइडेनका प्रवक्ताले आइतबार जानकारी दिँदै बाइडेनको स्वास्थ्यस्थितिलाई चिकित्सकहरूको निगरानीमा राखिएको जनाएका छन्।
प्रवक्ताका अनुसार, “प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा राष्ट्रपति बाइडेन हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहनुभएको छ।”
गत मे महिनामा ८२ वर्षीय बाइडेनलाई हड्डीसम्म फैलिएको आक्रामक प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो।
स्वास्थ्यको चुनौतीबीच पनि बाइडेनले जनसमुदायप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् — “क्यान्सरले हामी सबैलाई छुन्छ। जिल र मैले पनि पीडा सहनु पर्यो, तर हामी सबैभन्दा बलियो ठाउँमा छौँ।”
स्मरण रहोस्, बाइडेनका छोरा ब्यू बाइडेनको सन् २०१५ मा क्यान्सरकै कारण निधन भएको थियो।
बाइडेनले थपे, “हाम्रा लागि प्रेम, सहयोग र प्रार्थनाका लागि सबै शुभेच्छुकहरूलाई धन्यवाद।”
गत वर्ष ट्रम्पसँगको राष्ट्रपति पदको दोस्रो प्रतिस्पर्धा गर्दै गर्दा बाइडेनको स्वास्थ्य बिग्रँदै गएको देखिएको थियो। सन् २०२४ जुलाईमा बहसमा कमजोर प्रदर्शनपछि उनले राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए।
तर ह्यारिसले छोटो समयमा लोकप्रियता बढाए पनि अन्ततः डोनाल्ड ट्रम्पसँग पराजित भइन्, र ट्रम्पले २०२५ जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका थिए।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार, प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो। ८० वर्षभन्दा माथिका करिब ८० प्रतिशत पुरुषमा यस ग्रन्थीमा समस्या देखिने अनुसन्धानहरूले जनाएका छन्। प्रारम्भिक चरणमै रोग पत्ता लागेमा उपचार सम्भव भए पनि यो अझै पनि पुरुष मृत्युको दोस्रो प्रमुख कारण बनेको छ।
चिकित्सकहरूका अनुसार, हार्मोन थेरापीले क्यान्सरको वृद्धिलाई ढिलो गराउन र ट्यूमरलाई सानो पार्न सहयोग गर्छ, तर यो पूर्ण उपचार भने होइन।
यसबीच, राष्ट्रपति पदमा रहेका ७९ वर्षीय डोनाल्ड ट्रम्पको दोस्रो स्वास्थ्य परीक्षण शुक्रबार सम्पन्न भएको छ।

