एक वर्षमै सकिने भनिएको स्वास्थ्य चौकी भवन बनेन तीन वर्षमा पनि
बागलुङ । बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको नयाँ भवन निर्माण तीन वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। एक वर्षमा सक्नेगरी २०७९ माघ ६ गते थालिएको निर्माण काम अहिले ढलान र पर्खालसम्म मात्र पुगेको छ।
साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ संरचना कहिले तयार हुन्छ भन्ने अनिश्चितता अझै कायमै छ। निर्माण व्यवसायीको लापरबाही, कार्यगत ढिलाइ र पर्याप्त कामदार परिचालन अभावले भवन निर्माण अधुरो रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका इन्जिनियर सोबिन घर्तीका अनुसार दुई पटक थपिएको म्याद पनि कात्तिक मसान्तमै सकिएको छ।
“एक वर्षमा सकिने भनिएको भवन तीन वर्षमा पनि सकिएको छैन। प्लाष्टरसमेत पूरा भएको छैन। तिहारपछि त कामदारहरू स्थलमै देखिएको छैन,” घर्तीले भने, “अब ठेक्का तोड्ने वा म्याद थप्नेबारे छलफल भइरहेको छ। धरौटी जफत गरेर भए पनि भवन सम्पन्न गर्ने तयारीमा छौं।”
डिएनप्रसाद जेभीसँग रु १ करोड ८२ लाखमा भएको ठेक्का सम्झौताअनुसार काम अघि बढ्नुपर्ने भएपनि निर्माण कम्पनी समयमै साइटमा नदेखिनु, दोहोरो ढिलाइ हुनु र कामदार कमी हुनु प्रमुख समस्या बनेका छन्।
नारायणस्थान स्वास्थ्य चौकी ‘नमुना स्वास्थ्य चौकी’को रूपमा रहेको भएपनि भवन अधुरो रहँदा सेवामा जटिलता बढेको स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्माले बताए।
जनस्तरबाट रु २१ लाख चन्दा संकलन गरी जग्गा किनेर सुरु गरिएको परियोजना समयमा नसकिनु स्थानीयका लागि चिन्ताको बिषय भएको उनको भनाइ छ।

