काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार दुई खेलहरू हुने भएका छन् । लुम्बिनी प्रदेशमा जारी क्रिकेट प्रतियोगितामा शुक्रबार एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच प्रतिष्पर्धा हुने छ भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धात्मक खेल हुनेछ ।
दुवै खेलहरू बिहान ९ बजे सुरु हुने जनाईएको छ ।
बागमती प्रदेशले हालसम्म २ खेल खेल्दा दुवैमा फराकिलो अन्तरको हार व्यहोरेको छ भने सुदूरपश्चिमले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपाल पुलिस क्लब र एपीएफ भने २ खेलमा २ जितका साथ आमनेसामने हुँदै आएका छन् ।
अहिलेसम्म ३ खेलमा ३ खेल जितेको त्रिभुवन आर्मी क्लब ६ अंकका साथ अंकतालिकामा शीर्षस्थानमा छ । एपीएफ, पुलिस र लुम्बिनी प्रदेश समान ४ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् भने मधेश, कर्णाली, सुदूरपश्चिम र गण्डकी क्रमश: पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् ।
अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा रहेका छन् ।

