काठमाडौं । शुक्रबार तराई–मधेशका जिल्लाहरूमा होली पर्व हर्ष, उल्लासका साथ मनाइँदै छ । रंगहरूको पर्व होली बिहिबार हिमाल तथा पहाडमा मनाउने गरिन्छ भने तराई-मधेसमा भने भोलिपल्ट मनाउने गरिन्छ ।
होलीको अवसरमा पहाडी र हिमाली जिल्लाहरुमा विहीबार सार्वजनिक बिदा दिइएको थियो भने शुक्रबार तराई एवम् मधेशमा बिदा दिईएको छ ।
स्थानअनुसार होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।
पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गर्ने गरिन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै होली पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिएको होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन छ ।

