काठमाडौँ । समाजवादी मोर्चाले बुद्धिजीवी एवम् नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने भएको छ । नेकपा ९एकीकृत समाजवादी० को कार्यालय आलोकनगरमा शुक्रवार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पछिल्लो समयको राजनीतिक अवस्थाबारे समीक्षा गरिएको र गम्भीर रहेको निष्कर्ष निकालिएको बताए । नेता प्रकाण्डले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको र यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र लाखौं मानिस उतार्ने निर्णय भएको बताए ।
प्रतिगामी कदम र हर्कतलाई असफल गर्न १५ गतेको विरोध कार्यक्रम गर्ने निष्कर्ष निकालिएको विश्वकर्माले बताए । उनले भने,

‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने, दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत् विरोध प्रदर्शनलाई भव्य बनाउन, लाखौं जनताको सहभागिता सुनिश्चित गर्न के के गर्नुपर्छ, गर्ने निर्णय भएको छ ।’
संसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने निर्णय भएको बताए ।

