काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो।
नेपाली भाषी साहित्यकार क्षेत्री भारतीय नागरिक हुन् । भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका उनी त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् ।
क्षेत्रीलाई वर्ष २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मान गरेको थियो । त्यसअघि क्षेत्री भारतीय साहित्यलाई प्रदान गरिने सर्वोच्च पुरस्कार साहित्य अकादमी पुरस्कार, नेपालको मदन पुरस्कार गुठीबाट प्रदान गरिने जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।
लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा नै उपन्यास हो । उनको ‘बसाइँ’ उपन्यास नेपालमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृति हो । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो । त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित छ ।
क्षेत्रीलाई शिक्षा र साहित्य विधामा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो । उनको जीविकाको क्षेत्र अध्यापन र रुचिको क्षेत्र साहित्य हो । उनले शिक्षा क्षेत्रमा लामो समय सेवा गरेका छन् । उनलाई प्रसिद्धि दिलाउने काम भने साहित्यले गरेको हो । अहिले उनका कृति अन्य भाषामा समेत अनुवाद भएका छन् ।
उनको ‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयका प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् । त्यसका साथै त्यस उपन्यासको अनुवाद असमिया, हिन्दी, चिनियाँ, थारू भाषामा पनि भएको छ । त्यसले क्षेत्रीलाई अन्तर्राष्ट्रिय लेखकका रूपमा उभ्याएको छ । त्यसैले उनले यो पुरस्कार पाउनुमा साहित्य लेखनको नै मुख्य भूमिका रहेको छ ।
लीलबहादुर क्षेत्री सन् १९३३ मार्च १ मा भारतको आसामको गुवाहटीमा जन्मेका र त्यहीँ नै रहेर नेपाली साहित्यको साधनामा लागेका व्यक्ति हुन् । घरको वातावरणमा जान्नसुन्न पाएका संस्कृत मूलका साहित्य नै उनको साहित्यतर्फ अभिरुचि जगाउने प्रेरक तत्त्व हो । नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी साहित्यको अध्ययन उनले गरेका थिए ।
अर्थशास्त्रमा स्नातकोत्तर र त्यसै विषयका प्राध्यापक भए पनि उनले नेपाली साहित्य सिर्जनामामहत्वपूर्ण योगदान दिए । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ शीर्षकको कविता प्रकाशित गरेर साहित्ययात्राको औपचारिक यात्रा आरम्भ गरेका क्षेत्रीले विभिन्न विधामा कलम चलाएका थिए । उनका ‘बसाइँ’ ९२०१४०, ‘अतृप्त’ ९२०२६०, ‘ब्रह्मपुत्रको छेउछाउ’ ९२०४३० र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ ९२०६१ उपन्यास० ‘तीन दशक बीस अभिव्यक्ति’ ९सन् १९८३० र ‘लीलबहादुर क्षेत्रीका कथाहरू’ ९सन् १९९७० कथासङ्ग्रह ‘दोबाटो’ ९सन् १९६७० नाटक तथा विभिन्न पत्रपत्रिकामा एकाङ्की नाटक र निबन्धहरू प्रकाशित छन् ।

